संखुवा सभा जिल्लाको विभिन्न स्थानमा आगोलागी हुँदा १९ लाख बढीको क्षति भएको छ । जिल्लाको किमाथाङ्का चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको हो । शुक्रबार राति मकालु गाउँपालिका–५ खोकताक र चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा भएका आगलागीबाट १९ लाखको क्षति भएका जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ । 

301237839_775165910202031_1577179248258595507_n

शुक्रबार राति विद्युत् सट भई आगलागी हुँदा खोकताकमा स्थानीय भीमबहादुर तामाङ्को घर जल्दा रु ११ लाखभन्दा बढीको क्षति भएको मकालु–५ का वडाध्यक्ष योगराज राईले जानकारी दिए । आगलागीबाट तामाङको घरमा भएका सुनचादी, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडासहितका सम्पूर्ण सामान नष्ट भएका र तामाङकी श्रीमती भीममाया तामाङ गम्भीर घाइते भएकी उनले बताइन् ।

त्यसैगरी चैनपुर नगरपालिका–२ तिखिढुङ्गामा स्थानीय झलकबहादुर अधिकारीको घर जलेर रु ८ लाखभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए । आगलागीबाट अधिकारीको घरमा भएका खाद्यान्न, लत्ताकपडासहित सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । केही दिनयता भएका आगलागीबाट मकालु गाउँपालिका–४ र वडा नं ५ मा चारवटा घर जलेर नष्ट भएका छन् ।