सुन्दरहरैचार /श्रीमतीको शव धर भित्र छाडेर श्रीमान फरार रहेका छन् । मोरङको सुन्दरहरैँचामा हत्या गरिएको अवस्थामा बिहीबार बिहान एक जना महिलाको शव फेला परेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र भेटिएको हो । ‘घरको कोठाभित्र मनमायाको शव फेला परेको छ,’ बस्नेतले भने, ‘उनका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङ फरार छन् ।’

301237839_775165910202031_1577179248258595507_n

डीएसपी बस्नेतका अनुसार श्रीमतीको हत्या गरेर पदमबहादुर फरार बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि भागिरहेका पदमबहादुरको प्रहरीले खोजी गरिरहेको छ । तर, हालसम्म फेला पार्न नसकिएको डीएसपी बस्नेतले सुनाए । डीएसपी बस्नेतका अनुसार हत्या गरिएको अवस्थामा आमाको शव देखेपछि छोरी रत्ना तामाङले बिहीबार बिहान ७ः२० बजेतिर प्रहरीलाई खबर गरेकी हुन् ।

सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको जानकारी बस्नेतले दिए । उनका अनुसार कम्मरदेखि माथिको भागमा कपडा थिएन । प्रहरी घटनास्थलमा पुग्दा शव रहेको कोठाको ढोका खुला थियो ।

‘हात र शरीरका विभिन्न भागमा चोटपटक रहेको अवस्थामा शव फेला परेको हो । शव रहेको कोठा खुलै थियो,’ बस्नेतले भने, ‘घटनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरेजस्तो देखिन्छ । घटना बुधबार रातिकै हो ।’ पदमबहादुरले ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै राति ८ बजेतिर छोरी रत्नालाई फोन गरेका थिए ।

भोलिपल्ट बिहान हत्या भएको अवस्थामा आमाको शव भेटिएको र बुवा सम्पर्कविहीन बनेको भन्दै रत्नाले प्रहरीलाई फोन गरेकी हुन् । प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए । छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार पदमबहादुरले मदिरा सेवन गरेर यसअघि पनि बारम्बार पत्नी मनमायालाई कुटपिट गर्ने गरेको स्थानीयले बताएका छन् ।

मदिरा सेवन गरेर पदमबहादुरले कुटपिट गर्न थालेपछि मनमाया साँझ ६ बजेतिर छिमेकीको शरणमा पुगेकी थिइन् । केही समयपछि आफ्नै घर फर्किन् । ‘मनमाया घरमा पुगेपछि श्रीमान र श्रीमतीबीच झगडा भएको छिमेकीले सुनेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘हत्या गरिएको अवस्थामा भोलिपल्ट बिहान श्रीमतीको शव फेला परेको छ ।’

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । दाहाल नेतृत्वकै टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टमपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीले जनाएको छ ।