धरान/मेयर हर्क साम्पाङले समन्वय नगरी कोकाहको पानी दोस्रो पटक धरान बजार लौजान लागेको भन्दै धरान २० वासीले शनिबार अर्थात् श्रमबार मुहानमा अवरोध गरेका छन् । श्रमदाताहरु पुगेर पाईप तान्न शुरु हुन साथ वडा नं २० का जनप्रतिनिधि र स्थानीयबासीहरुले विरोध जनाएका थिए । मेयर साम्पाङले श्रमदाताहरु लिएर पाइप तान्न कोकाह मुहान पुगेको बेला वडाअध्यक्ष पदम लिम्बुसहितका जनप्रतिनिधि र स्थानीयहरुले विरोध गदै केही समय काम गर्न समेत रोक लगाएका थिए । 

301237839_775165910202031_1577179248258595507_n

‘हामी पनि धरानवासी हौं ? पहिलो पटक पानी चुपचाप पानी लानु भयो हामीले केही भनेनौं, फेरि पनि पानी आफु खुशी लाने मेयर साब तपाई ? हामीले पानी नखानु ? पहिला लिप्टिङ गेरर २० का जनतालाई पानी खुवाउनुहोस् त्यसपछि बजार क्षेत्र लानुहोस्, हामीले पनि मेयर बनाउनु तपाईलाई भोट दिएका छौं ?’ वडा २० का जनताहरुले दुखेसो पोख्दै भने । ‘२० नम्बरका जनताहरुले पनि पिउने पानीको अभाव झेलिरहेको तर नगर सरकारले छलफल नगरी बजार क्षेत्रको लागी मात्र पानी लगीरहेको छ । हामी धरानका जनता होइनौं ?’ स्थानीयहरुले आक्रोश पोखे । 

मेयर साम्पाङले २० का वडाअध्यक्ष सहित आएका वडा सदस्य लगायत २० का जनताहरुलाई पनि पानी खुवाउने प्रतिवद्धता जनाएपछि माहोल सेलाउदै गएको थियो । स्थानीयबासी विरोध गर्न कोकाह मुहानमा आउने सुचना पाएपछि जनपद, सशस्त्र प्रहरी र नगर प्रहरी मुहानमा परिचालन गरिएको थियो । मेयर साम्पाङले २० का वडाअध्यक्षलाई वडाको माग लिखितमा ल्याएर आईतबार बिहान ११ बजे उपमहानगरपालिकामा आउनु भन्दै सुझाए । श्रमदाताहरु लिएर श्रमदान गर्न मुहान पुगेको समय एक्कासी अवरोध गर्न जनप्रतिनिधि सहित वडावासी आउँदा कार्यालयमा आउनु पर्ने काम लिएर जंगलमा आएको भन्दै  मेयर साम्पाङले गुनासो गरे ।