धरान/धरान उपमहानगरपालिकाको १५ औं नगरसभा आज सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । हिजो आईतबार बसेको कार्यपालिका बैठकले नगरसभा आज दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । सो नगरसभामा प्रस्तुत हुन लागेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बैठकमा पास हुन सकेन । नीति तथा कार्यक्रमको विस्तृत अध्ययन गर्न नपाएको भन्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समय माग गरेका थिए । अध्ययनको लागि समय माग भएपछि आज पुनः १२ बजे कार्यपालिका बैठक बस्ने निर्णय भएको छ ।
आईतबार बसेको बैठकको विविध एजेण्डामा मोटरसाइकलको साइलेन्सर मोडिफाई गरि ध्वनी प्रदुषण गर्ने कार्यलाई नियन्त्रणमा लिन ग्यारेजहरुलाई १ लाख रुपैया जरिवाना गर्ने निर्णय पनि गरेको छ । बैठकमा भने जरिवाना ५ लाख रुपैया गर्ने प्रस्ताव मेयर हर्क साम्पाङले गरेका थिए । मोटरसाइकलले अत्यधिक ध्वनी प्रदुषण बढाएको र विरामी, वृद्धवृद्धाहरुलाई धेरै असर पुगेको गुनासो आएपछि नियन्त्रणमा लिन निर्णय लिनुपरेको मेयर साम्पाङले बताएका थिए ।

बैठकमा कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतले संघीय र प्रदेश कानुनसँग बाँझिने गरि भएको निर्णय स्वतः निष्क्रिय हुने बताएका थिए । मेयर साम्पाङले भने निर्णय गर्नुपर्ने र कानुनी विवाद आइपरे आफुले जिम्मेवारी लिने अडान राखेपछि निर्णय भएको थियो । ग्यारेजको व्यवसाय दर्ता स्थानीय तहमा हुने भएकोले कारबाही गर्न सकिने उनको भनाई थियो । आफ्नो मोटरसाइकल मोडिफाइ गर्ने चालकलाई पनि कारबाही गर्नुपर्ने कार्यपालिकामा धारणा आएपछि कानुन वमोजिम ट्राफिक प्रहरीलाई लेखेर पठाउने निर्णय भएको थियो ।
त्यस्तै, निर्माणाधिन नयाँ बसपार्कको ९० प्रतिशत काम सम्पन्न भइसकेको तर रनिङ बिलको भुक्तानी बाँकी रहेकोले कानुनी राय लिएर साथै प्राविधिक जाँच गरेर प्रतिवेदनको आधारमा भुक्तानी दिने निर्णय भएको छ । उक्त बसपार्कमा उच्च अदालत विराटनगरबाट निर्माण कार्य रोक्नु भन्दै स्टेअर्डर आएकोले भुक्तानी दिनु कतिको कानुन सम्मत हो ? भन्दै कार्यपालिकामा प्रश्न उठेको थियो । मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले स्टे अर्डर आउनुअघि ९० प्रतिशत काम सकिएकोले सोही आधारमा भुक्तानी दिनसकिने बताएका छन् ।




















