धरान/धरानमा भएको तेस्रो राष्ट्रिय कुराँसमा ६ स्वर्ण सहित बागमती प्रदेश प्रथम भएको छ । तेस्रो राष्ट्रिय कुराँस प्रतियोगिता २०८१ बिहीबार धरानमा सम्पन्न भएको हो । धरान(१६ स्थित रङ्गशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगितामा बागमती प्रदेशले ६ स्वर्ण पदकको उपाधि प्राप्त गर्दै प्रथम भएका छन् । 

कोशी प्रदेशले ५ स्वर्ण पदक ल्याएर दोस्रो भएको छ भने गण्डकी प्रदेश ३ स्वर्ण पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । प्रथम भएको बागमती प्रदेशले ६ वटा स्वर्ण, १ वटा रजत र १ वटा कास्य पदक गरी जम्मा ८ वटा पदक जित्न सफल भएको हो । दोस्रो हुने कोशी प्रदेशले ५ वटा स्वर्ण, ८ रजत र २३ कास्य पदक प्राप्त गर्दै ३६ वटा पदक जित्न सफल भएको छ भने गण्डकी प्रदेशले ३ स्वर्ण, १० रजत, ५ कास्य गरी १८ पदक जित्न सफल भएको छ ।

301145445_611959760539094_8650397903260629322_n

मङ्गलवार देखि सुरु भएको प्रतियोगितामा बागमती, कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, प्रदेशबाट खेलाडीहरूको सहभागिता रहेको थियो साथै प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) प्रतिस्पर्धाको रहेको थियो । समापन समारोहमा वैशाख ७ र ८ गते भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँस च्याम्पियनसिपमा नेपालको तर्फबाट २ स्वर्ण र ३ रजत पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतियोगितामा महिला र पुरुष गरी ४५ देखि ७३ केजी भारमा ३० जनाले प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ देखि ५० केजी सम्मका ४१ जनाले सहभागिता जनाएका थिए । कुराँस खेल उज्बेकिस्तान देशको पारम्परिक मार्सल आर्टको शैली हो । यो खेल यही देशबाट सुरु भएको कुराँस सङ्घ केन्द्रीय अध्यक्ष जीवन राईले बताए । उनले कुराँस खेलको मान्यता १९८० देखि भएको बताए ।

यो खेलमा खेलाडीले आफ्नो प्रतिस्पर्धीलाई ग्राउण्डमा छिर्के लगाएर लडाउनु पर्ने हुन्छ । जसमा शरीरको तलको भाग कम्मर देखि तलको भाग समाउन मिल्दैन र किक पनि हान्न मिल्दैन । यो खेलको समय अवधि पुरुषको लागि ४ मिनेट र महिला खेलाडीको लागि ३ मिनेटको रहन्छ ।

समापन समारोहमा पुगेका विशेष अतिथि अईन्द्र विक्रम बेघाले नेपालमा खेलिने सम्पूर्ण खेलहरू धरानमा खेलिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताए । उनले खेलाडीहरूको भावनालाई समेट्न उपमहानगरपालिकाले कुराँस खेललाई सम्बोधन गरेको बताए । उनले उपमहानगरपालिकाले कुराँसलाई यथेष्ट बजेट उपलब्ध गराउन नसकेपनि रातो किताबमा बजेट समेट्ने प्रयास गर्ने जानकारी गराए ।