धनकुटा /जिल्लाको भेडेटारमा निर्माण भएको स्काईवाक संचालनमा आएको छ । साउन ११ गते शुक्रबार देखि सञ्चालनमा आएको हो । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको छ ।
सुनसरी र धनकुटाको सिमानामा पर्ने सागुरीगढी गाउँपालिकामा अवस्थित भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको मौषममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुन्छन् ।
वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।
५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको छ । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका थिए ।
भेडेटारस्थित चाल्र्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काईवाक निर्माण गरिएको छ । काठमाडौंको कमलादी र इलामको कन्याममा निर्माणपछि वज्डर्स ग्रुपले भेडेटारमा पनि स्काईवाक तयार गरेको हो ।
भेडेटारमा पर्यटकहरुको लागि शुक्रबारदेखि एउटा अर्कोे आकर्षण थपिएको छ, भेडेटार स्काई वाक परियोजना । उक्त स्काई वाकको शुक्रबार एक भव्य समारोहबीच प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, धरानका मेयर हर्क साम्पाङ र साँगुरीगढीका गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले राईले रिबन काटेर उद्घाटन गरेका छन् ।
यो परियोजना वन्डर्स अम्युजमन्ट पार्कस् एण्ड अट्राक्सन्स प्रालिको लगानीमा निर्माण भएको हो । प्रदेश सरकारको प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाबीच समन्वयमा स्काई वाक बनेको हो । यसको करबाट हुने आम्दानी प्रदेश सरकार, धरान र साँगुरीगढीबीच बाँडफाड हुने सम्झौता पनि छ ।
उद्घाटन पश्चात मुख्यमन्त्री कार्काीले उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको महशुस गरेको बताए । उनले प्रदेशकै र नेपालकै गहना भएको प्रतिक्रिया दिदै सहि रुपमा सदुपयोग गर्दा पर्यटन क्षेत्रलाई माथि उठाउन कोसेढुंगा हुने बताए । ‘उत्कृष्ट छ, सुरक्षित छ, सबै आउनुहोला, घुम्नु होला,’मुख्यमन्त्री कार्कीले भने ।
मेयर साम्पाङले हेर्दा आकर्षक र वाक गर्दाको अनुभूति पनि युनिक लागेको प्रतिक्रिया दिए । मेरो पहिलो पटक अनुभव हो, मौषम र लोकेसन पनि राम्रो छ । नेपालकै सबैभन्दा राम्रो ठाउँमा बनेको छ भन्ने लाग्यो,उनले भने ।