धरान/ १० राजनीतिक दलले धरान खानेपानी बोर्डको ३ वटै बिल काउन्टरमा ताला लगाएका छन् ।  खानेपानीको महशुल वृद्धि विरुद्ध आन्दोलित  दलहरुले धरान खानेपानी व्यवस्थापन बोर्डको बिल काउन्टरहरुमा पनि तालाबन्दी गरेका हुन् । बोर्डका अध्यक्ष समेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई सोमबार बिहान १० बजेसम्म समय दिएपनि वेवास्ता गरेको भन्दै राजनीतिक दलहरुले सबै बिल काउन्टरहरुमा ताला लगाएको हो । राजनीतिक दलहरुले आज बिहान एकै समयमा वडा नं १५ को वडा कार्यालयमा रहेको काउन्टर, वडा नं ११ र वडा नं १६ स्थित खानेपानीको बिल बाउन्टरमा तालाबन्दी गरेका छन् । 

301145445_611959760539094_8650397903260629322_n

राजनीतिक दलहरुले काउन्टरमा पनि तालाबन्दी गरेपछि बोर्डको आर्थिक कारोबार ठप्प हुने स्थिति बनेको छ । हिजो राजनीतिक दलहरुले बोर्डका अध्यक्षको कार्यकक्ष, कार्यकारी निर्देशकको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको थियो । हिजो तालाबन्दी गदै सोमबार बिहान १० बजेसम्म बार्तामा बोलाउन मेयर साम्पाङलाई समय दिएका थिए । १० राजनीतिक दलहरुलाई बेवास्ता गरी वार्तामा नबोलाए बिल काउन्टरहरुमा ताला लगाउने दलहरुले घोषणा गरेका थिए । 

साउन १ गतेदेखि लागु हुने गरी खानेपानी बोर्डले विभिन्न शिर्षकमा खानेपानीको महशुल वृद्धि गरेपछि राजनीतिक दलहरु आन्दोलित छन् । उनीहरुले साम्पाङको एकल निर्णयबाट वृद्धि भएको महशुल पुरानै दररेट कायम नभएसम्म आन्दोलन नरोकिने बताउदै आएका छन् । १० राजनीतिक दलले संयुक्त अपिल जारी गर्दै सर्वसाधारण उपभोक्ताहरुलाई पानीको बिल नतिर्न आह्वान गरेका छन् । 


बोर्डका अध्यक्ष रहेका मेयर साम्पाङले भने आइयुडिपी प्रोजेक्टको लागि एडिबिबाट लिएको ऋण तिर्नको लागि महशुल वृद्धि गर्नुपरेको भन्दै स्पष्टीकरण दिएका छन् । गत बर्षको साँवा र ब्याज गरेर ६ करोड १ लाख ११ हजार ६८ रुपैया असारसम्म तिर्न नसेकेको र नगर विकास कोषले निरन्तर ताकेता गरिरहेको मेयर साम्पाङको भनाई छ । खानेपानीका लागि ल्याएको तिर्नुपर्ने कुल बक्यौता ऋण ५७ करोड १९ लाख रहेको र उक्त ऋण मिनाह भए मात्र महशुल वृद्धिको निर्णय फिर्त लिने मेयर साम्पाङले सामजिक सञ्जालबाट अडान लिदै आएका छन् ।