धरान /नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्व सन्ध्यामा भब्य तिज उत्सब कार्यक्रम सम्पन्न भएको छ । मनिहारी तिज उत्सव तथा उपहार व्यापार संघको आयोजनामा तिज उत्सब २०८१ धरानमा मनाईएको हो । उत्सब कार्यक्रममा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
कोशी प्रदेश सांसद यशोदा कायस्थले उत्सबमा बोल्दै नेपाली समाजमा महिलाहरू बिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्ने बताईन् । चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको तीज उत्सव २०८१ को अवसरमा बोल्दै सांसद कायस्थले बताइन् । महिलाहरूलाई रचनात्मक, सिर्जनात्मक हुँदै आर्थिक रूपमा सबल सक्षम हुन तिज पर्वले प्रेरणा दिउन् भन्दै सांसद कायस्थलले उत्सब कार्यक्रमम तिजको शुभकामना दिइन् ।

बहुभाषिक बहुसाँस्कृतिक विविधतायुक्त सहर धरानमा सांस्कृतिक सद्भावलाई बाह्य तत्त्वले खलबल्याउन खोजे पनि यहाँको विशिष्टता भनेकै सद्भाव भएको धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले बताए । धरान बहुजातिय सांस्कृतिक सहरको रूपमा स्थापित भएको बताउँदै सम्पूर्ण जातजातिहरू विशेष चाडपर्व नै धरानको संस्कृति विशेष पर्व र पहिचान भएको उपमेयर बेघाले थपे ।
एक व्यक्तिले कमाएर सबै परिवार बसेर खाने प्रवृत्ति भएकोले नेपाल आर्थिक उन्नतिमा पछाडि परेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । आर्थिक विकासको क्षेत्रमा महिला अगाडी बढेर व्यवसायीक गतिविधिमा अग्रसर नभए सम्म देशको अर्थतन्त्र सबल नहुने श्रेष्ठको भनाई थियो ।
मनिहारी तिज उत्सब कार्यक्रमको अवसरमा कपुरी न्यूजकी पत्रकार रश्मि प्रधान सम्मानित भएकी छिन् । प्रधानलाई सम्मानपत्र सहित नगद २ हजार १ सय रुपैयाँले सम्मान गरिएको थियो । उत्सवमा कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) मानबहादुर राई, महिला संञ्जालकी पूर्व अध्यक्ष शिला बज्राचार्य लगायत धरान ईटहरीका व्यवसायी महिला दिदीबहिनीहरु साथै धरानका विभिन्न संघ सस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । मनिहारी तथा उपहार व्यापार संघका अध्यक्ष रामस्वरुप शर्माको सभापतित्वमा भएको उत्सव कार्यक्रमको संयोजक दुर्गा काफले थिइन् ।

























