काठमाण्डौं/यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचन अघि निर्वाचन आचार संहिता लागु भैसकेको कुरालाई ध्यानमा राखेर मिडियाहरूलाई दुष्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिले आग्रह गरेको छ । नेपालको ३३ जिल्लाका ४४ स्थानीय तहमा उपनिर्वाचन हुने भएको हो । निर्वाचन आचार संहिता मङ्सिर २ गतेदेखि लागु भैसकेको छ । सामाजिक सञ्जालबाट समेत नियोजित रूपमा गलत, मिथ्या सूचना, अफवाह फैलाउने कार्यले स्वतन्त्र पत्रकारिता माथि गम्भीर प्रश्न उठ्ने हुँदा सञ्चार माध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्था, सामाजिक सञ्जालका प्रयोगकर्तालाई त्यस्तो कार्य नगर्न काउन्सिलले विज्ञप्ति मार्फत अपिल गरेको छ । 

विज्ञप्तिमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर टीकाटिप्पणी, आरोप प्रत्यारोप, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण हुनसक्ने कुरा उल्लेख गर्दै एक दलका नेताहरूबाट अर्को दल, दलका नेताविरुद्ध घृणास्पद अभिव्यक्ति आउन सक्ने, गलत सूचना, दुष्प्रचार हुन सक्ने कुरामा सचेत रहन आग्रह गरिएको छ । ‘त्यस्ता मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न र कसैको पक्ष वा विपक्षमा नलागी निर्वाचनसँग सम्बन्धित समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौँ ।’ काउन्सिलले विज्ञप्तिमा भनेको छ ।

301237839-775165910202031-1577179248258595507-n

मत सर्वेक्षण गर्दा पत्रकार आचारसंहिता(२०७३ पहिलो संशोधन, २०७६ मा ‘पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्ने, यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाइ प्रस्तुत गर्नुपर्ने’ भनी गरेको व्यवस्थामा मिडियाको ध्यानाकर्षण गराएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा २५ च मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्राम, अनलाइन जस्ता विद्युतीय माध्यममा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको कुरामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई समेत काउन्सिलले ध्यानाकर्षण गराएको छ ।