धरान/प्रेस स्वतन्त्रताको माग गदै धरानका पत्रकारहरुको मौन जुुलुस प्रदर्शन धरान उपमहानगरपालिका गेट अगाडी गरेका छन् । नेपाल पत्रकार महासङ्घको आयोजनामा सोमबार बिहान धरानका पत्रकारहरूले प्रेस स्वतन्त्रताको माग गर्दै मौन जुलुस प्रदर्शन गरेका हुन् । समाचार लेखेकै कारण स्थानीय सरकार धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल मार्फत धम्की दिएपछि पत्रकारहरू आन्दोलित भएका हुन ।
मौन जुलुसमा सहभागी पत्रकारहरूले प्रमुख साम्पाङले प्रेस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप गरेको विरोधमा प्रेस स्वतन्त्रता कायम गर, शासक कि जनप्रतिनिधि ? हामी यसको जवाफ चाहान्छौं ।, डर धम्की बन्द गर, नागरिकलाई थुक्न पाइँदैन, पत्रकारलाई थुक्न पाइँदैन लेखिएका पर्चा हात हातमा लिएका थिए । भानुचोक देखि उपमहानगरपालिका सम्म पुगेको जुलुस प्रवेशद्वारमा कोणसभा गर्दै समापन गरिएको थियो । समापनमा वरिष्ठ पत्रकार हर्ष सुब्बाले पञ्चायतकालदेखि हालसम्म पत्रकारहरू असुरक्षित हुँदै गएको बताए । लोकतन्त्र प्राप्तिका लागि लडेका पत्रकारहरूमाथि लोकतन्त्रको उन्नत अभ्यासबाट आएका जनप्रतिनिधिहरूबाटै असुरक्षित हुने अवस्था सिर्जना हुनु दुःखद भएको पत्रकार सुब्बाले बताए ।
नगर प्रमुख साम्पाङले गृहमन्त्री रमेश लेखकलाई पत्र पठाएको उल्लेख गर्दै अब ‘हिमाल खबरमा छापिएको समाचार बारे छानबिन हुनुपर्ने समाचार भए पत्रकार दाहाल र समाचार पुष्टि भए नगर प्रमुख स्वयं जिम्मेवार हुनुपर्ने पत्रकार सुुब्बाको भनाई थियो । महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले भने ‘नगर प्रमुखले गृहमन्त्रीलाई पठाएको पत्रमा पत्रकारलाई कारबाही गर्ने भनिएको विषय खेदजनक छ ।’ उनले नक्कली माओवादीको विषय उनी आफू स्वयमले होइन भनी पुष्टि गर्न चुनौती दिए ।