धरान/ धरान एक्स्पोको तयारी पुुरा भएको छ  । धरान रंगशालामा पौष २५ गतेबाट शुरु हुने ‘धरान एक्स्पो २०८१’को सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवद्र्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ ।  

कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मेलाको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्ने पत्रकार सम्मेलनमा आयोजक समितिले कार्यक्रम तय भएको जनाएको छ । उद्घाटन समारोहमा संघीय र प्रदेश सरकारका अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ ।

१० दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योग क्षेत्रका करिब एक सय पचास वटा स्टलहरू रहने छन्।् । यसका साथै, आगन्तुकहरूले सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाउने छन्। मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, तथा अन्य विविध कार्यक्रमहरू पनि समावेश गरिएको छ ।  

एक्स्पोको पहिलो दिन चर्चित गायिका ईन्द्रकला राईको सांगीतिक प्रस्तुति हुनेछ। उहाँले आफ्ना लोकप्रिय गीतहरू बार्दली, उडायो मन लगायतका अन्य थुप्रै हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नुहुन छ ।

स्थानीय व्यवसाय र अर्थतन्त्रलाई उचाइमा र्पुयाउने लक्ष्य

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा र्पुयाउनु यस एक्स्पोको मुख्य उद्देश्य हो ।’

एक्स्पोमा विभिन्न क्षेत्रका उद्यमीहरूले आफ्ना नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। स्थानीय तथा राष्ट्रिय स्तरका पर्यटकहरूलाई आकर्षित गर्न विशेष योजना बनाइएको छ।

व्यापार र मनोरञ्जनको संगम

एक्स्पोले व्यापारिक गतिविधि र मनोरञ्जनलाई एकसाथ ल्याउँदै स्थानीय उद्यमीलाई उत्पादन प्रदर्शन गर्ने थलो दिन्छ । ‘यो केवल किनमेल र मनोरञ्जनको थलो मात्र होइन, हाम्रो आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउने महत्त्वपूर्ण अभियान हो,’ संयोजक गोपाल श्रेष्ठले बताए ।

सुनसरी उद्योग वाणिज्य संघले एक्स्पोमा सहभागी हुन र यसलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ। ‘हाम्रो क्षेत्रीय पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन हामीले गरेको प्रयासलाई सबैले साथ दिनुपर्छ,’ संयोजक श्रेष्ठले भने । एक्स्पोको तयारी भव्य रूपमा गरिएको छ, र यसले व्यापारिक क्षेत्रसँगै मनोरञ्जनप्रेमीहरूलाई समेत आकर्षित गर्ने विश्वास आयोजकले लिएका छन् ।