धरान/ धरान एक्स्पो आजबाट शुरु हुुने भएको छ । धरान उपहानगरपालिकाको रंगशालामा (आज)विहीबारदेखि धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनले लक्ष्यका साथ धरान एक्स्पो २०८१ संचालन गर्न लागिएको हो । पौष २५ गतेबाट औपचारिक रुपमा उदघाटन भएको एक्स्पो १० दिन सम्म सञ्चालन हुनेछ ।
सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले २४ गते पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवद्र्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ । कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मेलाको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्नेछन् । उद्घाटन समारोहमा संघीय र प्रदेश सरकारका अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ ।
१० दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योग क्षेत्रका करिब एक सय पचासवटा स्टलहरू रहने छन्। यसका साथै, आगन्तुकहरूले सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाउने छन्। मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, बाल उद्यान, तथा अन्य विविध कार्यक्रमहरू पनि समावेश गरिएको छ । एक्स्पोको पहिलो दिन चर्चित गायिका ईन्द्रकला राईको सांगीतिक प्रस्तुति हुनेछ। उनले आफ्ना लोकप्रिय गीतहरू बार्दली, उडायो मन लगायतका अन्य थुप्रै हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछिन्।
स्थानीय व्यवसाय र अर्थतन्त्रलाई उचाइमा र्पुयाउने लक्ष्य
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा र्पुयाउनु यस एक्स्पोको मुख्य उद्देश्य हो ।’ एक्स्पोमा विभिन्न क्षेत्रका उद्यमीहरूले आफ्ना नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। स्थानीय तथा राष्ट्रिय स्तरका पर्यटकहरूलाई आकर्षित गर्न विशेष योजना बनाइएको छ ।
व्यापार र मनोरञ्जनको संगम
एक्स्पोले व्यापारिक गतिविधि र मनोरञ्जनलाई एकसाथ ल्याउँदै स्थानीय उद्यमीलाई उत्पादन प्रदर्शन गर्ने थलो दिन्छ। ‘यो केवल किनमेल र मनोरञ्जनको थलो मात्र होइन, हाम्रो आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउने महत्त्वपूर्ण अभियान हो,’ संयोजक गोपाल श्रेष्ठले थपे । सुनसरी उद्योग वाणिज्य संघले एक्स्पोमा सहभागी हुन र यसलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ । ‘हाम्रो क्षेत्रीय पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन हामीले गरेको प्रयासलाई सबैले साथ दिनुपर्छ,’ संयोजक श्रेष्ठले भने ।