धरान/सुुनसरीको धरानमा आज देखि धरान एक्स्पो शुुरु भएको छ । धरान रंगशालामा ‘धरान एक्स्पो २०८१’ शुुरु भएको हो । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा शुुरु भएको एक्स्पोको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका छन् । उद्घाटन गर्दै प्रमुख अतिथि उप–प्रधानमन्त्री सिंहले यस्ता व्यापारिक प्रदर्शनीहरूले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्तवपूर्ण भूमिका खेल्ने बताए । एक्स्पोले स्थानीय उद्योग–व्यवसायलाई बलियो बनाउन र आर्थिक मन्दी चिर्न महत्त्वपूर्ण योगदान दिने सिंहको भनाई थियो ।

301237839-775165910202031-1577179248258595507-n (1)

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले आर्थिक मन्दीको समयमा यस्ता गतिविधिले उद्योग–व्यवसायमा सकारात्मक प्रभाव पार्ने बताए। ‘हामीले एक्स्पो अर्थतन्त्र चलायमान गराउन आयोजना गरेका हौं। बजारमा माग घटेको, उद्योग क्षेत्र धरमराएको अवस्थामा एक्स्पोले आर्थिक सुधारमा टेवा र्पुयाउनेछ।’–उनले भने । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले यस्ता मेला र प्रदर्शनीहरूलाई निरन्तरता दिन उपमहानगरपालिकाले सधैं साथ दिने बताए । 

निवर्तमान मेयर तिलक राईले एक्स्पोलाई धरानको एक ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको भन्दै आयोजकलाई बधाई दिए । एक्स्पोमा करिब एक सय पचासवटा स्टलहरू छन्। यी स्टलहरूमा घरेलु उत्पादन, उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स, र स्थानीय उत्पादनहरू बिक्रीका लागि राखिएका छन् भने मनोरञ्जनका लागि विशेषतस् रोटेपिङ, ड्रागन ट्रेन, बालबालिकाका खेल सामग्रीहरू, र साँझ सांस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ। दिउँसोको समयमा विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर रोटेपिङ र अन्य मनोरञ्जनात्मक खेलमा विशेष छुट पाउनेछन्। साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने व्यवस्था गरिएको छ । एक्स्पो माघ ५ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहमा संघका पदाधिकारी, स्थानीय नेताहरू, र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।