धरान / आगमी चैत्र २ गते तेस्रो गोर्खा टे«ल ब्लेजर रन हुने भएको छ ।  प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा आयोजना हुने गोर्खा ट्रेल ब्लेजर रनको तेस्रो सँस्करण आगामी चैत २ गते हुने भएको हो । आयोजक गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै तेस्रो सँस्करण चैत २ गते आयोजना गर्ने जानकारी दिएको छ । पुर्खा दिवसको अवसर पारेर दौड र सम्मान कार्यक्रम गर्ने आयोजक ट्रष्टका अध्यक्ष महेन्द्र राईले बताए । विगतमा झैं धरान १८ स्थित रत्नचोकबाट वडा नं २० स्थित गोर्खा स्मृति पार्कसम्म दौड हुनेछ । यो दौडको दुरी १० किलोमिटर रहेको अध्यक्ष राईले जानकारी दिए ।

दौडमा करिब ७ सय जनाको संख्यामा सहभागिता हुनेछ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताले क्रमशः जनही नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् । साथै, दौडमा प्रथम हुने महिला र पुरुषलाई आगामी बर्ष सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेल ब्लेजर रनमा सहभागिता जनाउने अवसर पनि दिइने अध्यक्ष राईले बताए । तर, यो अवसर नेपाली नागरिक अनिवार्य हुनुपर्ने पनि उनले बताए ।गोर्खा स्मृति पार्कमा हुने समापन समारोहमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगाका(हाल उदयपुर बेल्टार निवासी) १०२ बर्षीय भूपू ब्रिटिश सैनिक दलबहादुर राईलाई सम्मान गरिनेछ । यस्तै, यो बर्षदेखि धरानको ऐतिहासिक चोक रत्न चोक निवासी ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले बर्षेनी विश्वयुद्ध वा अन्य युद्ध लडेका जीवीत भूपू सैनिकहरुलाई सम्मान गर्दै आइरहेको छ । गत बर्ष पनि भोजपुरको टेम्के मैयुङ गाउँपालिका निवासी १०२ वर्षीय पुर्वब्रिटिश आर्मी इन्द्रबहादुर राईलाई सम्मान गरेको थियो । 

301237839-775165910202031-1577179248258595507-n-1

ट्रष्टले अप्रिल ५ लाई पुर्खा दिवस मान्दै आएको छ । सन् २०२३ देखि धरान वडा नं १८ कार्यालयसँग सहकार्य गरि ट्रष्टले गोर्खा ट्रेल ब्लेजर रनको शुरुवात गरेको होे । पुर्खा दिवसको अवसरमा हङकङमा पनि ट्रेल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । हङकङमा यो बर्ष १ मार्चमा दौड हुनेछ । विश्व शान्तिको लागि युद्ध लडेका भूपू सैनिकहरुलाई सम्मानपुर्वक हेरिनुपर्छ भन्ने उद्देश्यले ट्रष्टले कार्यक्रम आयोजना गर्दै आएको सदस्य एवं सञ्चारकर्मी विकास चाम्लिङ राईले जानकारी दिए । कार्यक्रममा भूपू सैनिक तथा परिवारजनहरुलाई पनि जोड्ने प्रयास भइरहेको राईले जानकारी बताए ।

वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा धरान हङकङ मञ्चका सचिव रमेश राईले प्रतियोगिताको लागि व्यक्तिगतरुपमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।