ताप्लेजुङः / अलैचीको मुल्यमा निरन्तर गिरावट आएपछि किसान निरास बनेका छन् । हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको हो । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको छ । मुल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मुल्य प्रतिमन ९४० किलोग्राम ९८ हजार रुपियाँमा झरेको छ ।
साधारण अर्थात् चलनचल्तीको अलैँचीको मुल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । फुङ्लिङ बजारका व्यावसायी भद्रबिर रेग्मीका अनुसार अलैँचीको मुल्य घट्दै–घट्दै मङ्गलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिब दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मुल्य घटिरहेको रेग्मीले जानकारी दिए ।
अलैँची व्यावसायी संघ ताप्लेजुङका अध्यक्षसमेत रहेका व्यावसायी रेग्मीका अनुसार सोमबार फुङ्लिङ बजारमा प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएको थियो। एक दिनपछि मङ्गलबार दुई हजारले घटेर ९८ हजार रुपियाँमा अलैँचीको कारोबार भइरहेको उनले जानकारी दिए। अलैँचीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाउने सम्भावना कायमै रहेको पनि रेग्मीले बताए ।
हाल अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यावसायी बताउँछन्। देश बाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यावसायी रेग्मीले बताए। नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भर हुने उनको भनाइ छ । ताप्लेजुङमा उत्पादन हुने अधिकांश अलैँची किसानले बेचिसकेका छन्। स्थानीय व्यापारीका अनुसार करिब ८० प्रतिशत बढी अलैँची किसानले बिक्री गरी सकेका छन् ।