धरान/ श्रीमानको योजनामा चुुनकुुमारीको हत्य भएको खुलेको छ । चुनकुमारी हत्या प्रकरण श्रीमानको योजनामा हत्या, परिवारका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । चैत २५ गते सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा मृत फेला परेकी चुनकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमानको योजनामा भएको खुलेको छ । बिहिबार प्रहरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ६ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ घर भई सुनसरीको इटहरीमा डेरा गरी बस्ने बुढाथोकीको हत्या उनकै श्रीमान प्रेमबहादुर बुढाथोकीको योजनामा भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । श्रीमानसँग विगत पाँच बर्षदेखि सम्बन्ध बिग्रिएको र श्रीमती माथि उनको शंकाको कारण हत्या गर्नेसम्मको योजना बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । श्रीमतीको हत्या गर्न एक भारतीय नागरिकलाई बुढाथोकीले पैसा दिएर प्रयोग गरेको उनले बताए । चुनकुमारीको हत्या गर्ने योजना बनाउन उनका श्रीमान ३ महिना अघि नेपाल आएको र पुनः कोरिया फर्किएको बताइएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कोरियामा रहेका मृतककी श्रीमान प्रेमबहादुर बुढाथोकी, मोरङ पथरीशनिश्चरे नगरपालिका–३ संगमचोक बस्ने २९ बर्षीय प्रेमका भाई ढकेन्द्र बुढाथोकी, उनकी श्रीमती २५ बर्षीया श्रृष्टि बुढाथोकी, पाँचथर मिक्लाजुङ गाउँपालिका–७ घर भई हाल मोरङ उर्लाबारी–५ फागुटोल बस्ने मुख्य योजनाकार प्रेमका ज्वाईं ३६ बर्षीय योगेन्द्र गौतम उनकी श्रीमती २८ बर्षीया बिनु गौतम र अर्कीे एक जनालाई समेत पक्राउ गरेको छ ।
घटना गत चैत्र २४ गते साँझ भएको प्रहरीको भनाई छ । मृतकका श्रीमानले चुनकुमारीलाई कोहि व्यक्तिलाई भेट्न ज्वाईंसग जानु भनेर अह्राएका थिए । उनीहरुको पूर्व योजना अनुसार मृतकलाई लिएर ज्वाईं र एक जना भारतीय नागरिकले हत्या गरिएको स्थानमा पुर्याएका थिए । सो स्थानमा पुगेपछि बाटो टुंगिएको र हेरेर आउने भन्दै मोटरसाइकलबाट उत्रिएर जंगलभित्र लगि मृतकले बोकेको व्यागको झुण्ड्याउने फिताले घाँटीमा बाँधेर हत्या गरिएको एसपी तिम्सिनाले बताए ।
घटनाको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान व्युरो, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अगाडी बढाएको थियो । गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए । पक्राउ परेकाहरुलाई अदालतबाट म्यादथप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।