काठमाडौंं / निमय सिकाउने ट्राफिक प्रहरी केही दिन यता सामजिक सञ्जालमा भाईरल बनेका छन् । यो हप्ता ट्राफिक प्रहरीले नागरिकलाई कुटपिट गरेका दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । सामाजिक सञ्जालमा ट्राफिक प्रहरी अराजक बनेको भन्दै सर्वसाधारणले भिडियो सेयर गर्न थालेपछि मात्रै यो भिडियोका विषयमा ट्राफिक कार्यालयले छानबिन अगाडि बढाएको छ ।
हुन त दुवै भिडियो पुराना हुन्। एउटा त एक वर्ष पुरानो हो भने अर्को गत मंसिर महिनाको भिडियो थियो । दुवै भिडियोमा ट्राफिक प्रहरीले नागरिकलाई धम्क्याउँदै कुटपिट गरेको देख्न सकिन्छ । यही वैशाख १२ गते सामाजिक सञ्जालमा देखा परेको यो भिडियोमा ट्राफिक प्रहरीले किन भागेको ? भन्दै एक युवालाई लखेट्दै समातेर कुटेको देख्न सकिन्छ । यो भिडियो २०८० सालको चैत्र महिनातिरको भएको ट्राफिक प्रहरीले बताएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंंका प्रमुख विनोद घिमिरे भन्छन्, ‘सामाजिक सञ्जालमा भाइरल यो भिडियोका विषयमा हामीले आन्तरिक छानबिन गरेका थियांै । छानबिनका क्रममा उक्त भिडियो काठमाडौंंको नै भएको र भिडियोमा देखिएको ट्राफिक प्रहरी २०८० चैतमा सरुवा भएर गइसकेको भेटिएको छ । उनका विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’
वैशाख १० गतेदेखि फेसबुक, टिकटक र युट्युबमा भाइरल अर्काे भिडियोमा भने एक व्यक्तिलाई कुटपिट गरेको दृश्य छ। भिडियो सार्वजनिक भएपछि प्रहरीले चार जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उनीहरूले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले चासो देखाएको हो । भिडियोमा एकजना सर्वसाधारण जस्तो देखिने व्यक्तिलाई ट्राफिक प्रहरीको ज्याकेट लगाएका एक व्यक्तिले कुटपिट गरेका छन्। भुइँमा लडाएका छन्। उक्त घटना अन्य प्रहरीले पनि हेरिरहेको देख्न सकिन्छ ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख विनोद घिमिरेका अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धाराको आकाशेपुल मुनि घटेको हो । दिउँसोको समयमा भएको उक्त घटनाका विषयमा आवश्यक छानबिन भइरहेको छ । कुटपिट गर्ने एक जना र कुटेको देख्दादेख्दै हेरेर बस्ने अरूहरू पनि घटनाको भागीदार हुन् भन्दै छानबिनका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको छ । भिडियोमा देखिएका प्रहरीहरू ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । अहिले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको छ ।
उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता दीपक गिरीका अनुसार भिडियो पुरानो भए पनि भिडियोमा देखिएका ट्राफिक प्रहरी कारबाहीको भागीदार हुने बताए। कुनै पनि बहानामा कानुन हातमा लिन नपाइने बताउँदै प्रवक्ता गिरीले कहिलेकाहीँँ ट्राफिक प्रहरीको व्यक्तिगत व्यवहार र आचरणका कारण पनि यस्ता घटना घट्ने उनले जानकारी दिए ।
उनी भन्छन्, ‘सामाजिक सञ्जालमा आउने यस्ता भिडियो प्रायः एकतर्फी हुन्छन्, घटनाको सुरुवात कसरी भयो ? के कसरी कुटपिट हुने अवस्था आयो पूरै घटना अनुसन्धान गर्नुपर्ने हुन्छ। सडकमा नागरिक देख्नासाथ ट्राफिकले यसै कुटिहाल्ने भन्ने हैन नि। समय सन्दर्भ जे भए पनि अन्य कारबाही अपनाउने हो । चालकको गल्ती अनुसारको कारबाही गर्ने हो । सार्वजनिक रूपमा नै कुटपिट गर्नु कुनै पनि बहानामा छुट छैन ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख विनोद घिमिेरे भन्छन्, ‘कानुन उल्लंघन गर्ने जो भए पनि कारबाहीको भागीदार हुन्छन्। नागरिक कुट्ने ४ जना निलम्बन भएका छन्। यो आव शुुरु भएदेखि चैत मसान्तसम्म ९ महिनामा ४० जना ट्राफिक प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। अघिल्लो आर्थिक वर्षमा ८४ जना र आर्थिक ७९।८० मा ९१ जना ट्राफिक प्रहरी कानुनी कारबाहीमा परेका छन्।’
घिमिरेका अनुसार कारबाहीमा परेका प्रहरी कर्मचारीको कसूर हेरेर कसैको बढुवा रोक्का हुने, कसैको केही समयका लागि जिम्मेवारी नदिनेलगायत अन्य विभिन्न प्रकारका कारबाही हुने गरेको छ ।