धरान / भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट १८० केजी गाँजा बरामद् भएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट १८० केजी लागू औषध गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार राति करिब १० बजे लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, पकली र प्रस्तावित रामधुनी प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले सम्पूर्ण सडक घेराबन्दी गर्दै सघन चेकजाँच गरेको थियो ।

जाँचका क्रममा भारतको बिआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्स रोकेर तलासी लिँदा, कालो प्लास्टिकले बेरिएका सेतो बोरामा प्याक गरिएको ३०–३० केजीका ६ वटा बोरा, अर्थात जम्मा १८० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक श्रीराज कुमार साह (२५ वर्षीय सुनसरीको बराहक्षेत्र नगरपालिका–४ निवासी तथा राजेन्द्र साहका छोरा, हाल प्रहरी नियन्त्रणमा छन् ।

बरामद लागू औषधसहित एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1