धनकुुटा / आईतबार देखि धनकुटामा लाइमकार्ड लागु गरिएको छ । आइतबारदेखि विभिन्न ५ वटा रुटमा सवारीसाधनलाई लक्षित गरेर ‘टाइमकार्ड’ लागू गरिएको हो । तीव्र गतिका कारण हुने दुर्घटना न्यूनीकरणका लागि साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ‘टाइमकार्ड’को शुभारम्भ गरेका हुन् । प्रजिअ पोखरेलले पछिल्लो समयमा भइरहेको सार्वजनिक सवारीसाधन विशेष गरी विद्युतीय माइक्रोबसको दुर्घटना कम गर्न ‘टाइमकार्ड’ प्रभावकारी हुने विश्वास व्यक्त गरे । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले दुर्घटना न्यूनीकरणमा पालिकाले आवश्यक सहयोग गर्ने बताए ।
विगत ३ वर्षको दुर्घटना तथ्यांक प्रस्तुत गर्दै धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले ‘टाइमकार्ड’लाई निरन्तरता दिइने बताए । त्यसको निरन्तर अनुगमन गरिने र १ महिनापछि प्रभावकारिता मूल्यांकन गरेर आवश्यक कदम चालिने क्षेत्रीले बताए । ‘टाइमकार्ड’अन्तर्गत भेडेटारदेखि मुलघाटसम्म १७ किलोमिटर दूरीका लागि ४० मिनेट, मुलघाट–धनकुटा १८ किमिका लागि ४० मिनेट, धनकुटा–हिले १३ किमिका लागि ३० मिनेट, हिले–लेगुवा २६ किमिका लागि ५५ मिनेट र हिले–सिँधुवा १२ किमीलाई २५ मिनेट समय निर्धारण गरिएको छ । कोशी प्रदेशका पहाडी रुटमा धनकुटामा पहिलो पटक ‘टाइमकार्ड’ लागू गरिएको हो ।
जेठ ९ गते प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि ‘टाइमकार्ड’ लागू गर्ने निर्णय गरेको थियो । यसका लागि धनकुटा नगरपालिकाले प्राविधिक सहयोग गरेको छ । कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, यातायात व्यवसायी, होटल व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, ट्राफिक प्रहरी, अन्य निकायका प्रतिनिधि र स्थानीयहरुको सहभागीता रहेको थियो ।