धनकुटा / धनकुटाको निगालेमा आज अपराह्न यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटना हुुँदा ६ जना घाइते भएका छन्। विराटनगरबाट धनकुटाको जीतपुरतर्फ जाँदै गरेको प्रदेश १–०२००१ ख ९६०६नम्बरको साइराम यातायातको बस कोशी राजमार्ग अन्तर्गत धनकुटा(हिले खण्डको निगालेमा सडकबाट अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा महालक्ष्मी नगरपालिका वडा नम्वर ६ की ५५ वर्षीया गंगा कार्की र वडा नं ७ का ६० वर्षीय डिल्ली बरालको धनकुटा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा धनकुटा नगरपालिका–४ की ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, धनकुटा नगरपालिका वडा नं ४ की ६० वर्षीया देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ की ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी–८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङ गाछिया–७ की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी–७ की सिर्जना जिमी रहेका छन् । घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै वस चालक इटहरी उपमहानगरपालिका वडा नं १७ वस्ने वर्ष ५० को कुलवहादुर मगरको बाँया हातमा चोट लागि घाइते भएको हिले पोलिक्लिनिकमा उपचार प्रश्चात प्रहरी चौकी हिलेमा नियन्त्रण गरि राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्र्कीका अनुसार दुर्घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुुगेर उद्धार तथा आवश्यक अनुसन्धानको काम गरेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई सडकमा पल्टिएको बताइएको छ ।




















