धरान / नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा कोशी प्रदेश डिआईजी रनिङ कप फुुटबल सार्ताै संस्करण पौष ९ गते देखि हुने भएको छ । विगत देखि हुँदै आएको कोशी प्रदेश अन्तर विद्यालय डिआइजी कप फुटबल प्रतियोगिताको सातौँ संस्करण पौष ९ देखि १९ सम्म सञ्चालन हुने भएको हो । आयोजक पुलिस स्कुलले आज मङ्गलवार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको छ । प्रतियोगिता संयोजक सुरेश कुमार हायुले राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको डीआईजी कप पुनः शुुरु गर्न लागिएको बताए । डीआईजी कप २०५८ सालदेखि प्रारम्भ भएको थियो ।

विद्यालय तहबाटै खेलकुदको प्रवद्र्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य रहेको संयोजक हायुले पत्रकार सम्मेलनमा जानकारी गराए । मित्रताको लागि निष्पक्ष खेल यसपालीको मुख्य नारा भएको संयोजक हायुले बताए । प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयको टिम सहभागी हुने उने बताए । प्रतियोगीताका खेलहरु नेपाल प्रहरी प्रदेश कार्यालय धरानको फुटबल मैदानमा हुनेछ । प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्मका विद्यार्र्थी र एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्र्थी खेलाडीहरु खेलामा सहभागीत हुुनेछन् ।
प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ४१ हजार ५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधामा बेस्ट गोलकिपर, बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा बेस्ट कोचलाई जनही २ हजार ५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।विजेता खेलाडीहरुलाई कक्षा ११ मा अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्ति पनि उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार ५ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले ट्रफी एक वर्षभित्र आयोजकलाई फिर्ता बुझाउनु पर्नेछ । सट्टामा रिपब्लिक ट्रफी प्रदान गरिने आयोजक जानकारी दिए ।


















