धरान /। नेपाली कम्युनिष्ट पार्टी देशकै सबैभन्दा ठूलो पार्टी बन्ने पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले दाबी गरेको छ । धरानमा सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता गजुुरेलले यस्तो दाबी गरेको हो । सभालाई सम्बोधन गर्दै नेता गजुरेलले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावलजस्ता एमालेका पूर्व शीर्ष नेताहरु हाल एकीकरण भएको नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध रहेको उल्लेख गर्दै एमालेप्रति असन्तुष्ट हजारौँ नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने विश्वास समेत व्यक्त गरे ।

विभिन्न वाम धारहरू एकीकृत भएर बनेको पार्टी भएकाले नेपाली कम्युनिस्ट पार्टी जनआधारित र वैकल्पिक शक्तिको रूपमा स्थापित हुँदै गएको नेता गजुरेलको बुुझाई छ । उनले भने धरान राजनीतिक चेतना, पहिचान र समाजवादी आन्दोलनको ऐतिहासिक आधार भएको शहर भएकाले यहाँ पार्टी संगठन मजबुत बनेमा सम्पूर्ण प्रदेशभर यसको प्रभाव विस्तार हुने धारणा राखेको छ ।
सभामा पार्टीका नेता किरण राईले आत्मसमीक्षा र अनुशासनसहित एकतालाई अझ धारिलो बनाउनु पर्नेमा जोड दिएका थिए । नेता जीवन राईले विगतका कमजोरी सच्याउँदै एकतालाई सुदृढ बनाएर नेपाली कम्युनिस्ट पार्टीले धरानको विकास र समृद्धिमा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एकता सन्देश सभामा नेताहरू मुक्सामहाङ मेन्याङ्बो (मुकेश), मनोज भट्टराई, उमिता बराइली, धरान उपमहानगरपालिकाका उपमेयर तथा पार्टी नेता अइन्द्र विक्रम बेघालगायतको उपस्थिति रहेको थियो । धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभा अघि छाताचोकबाट मोटरसाइकल (याली शुुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।





















