धरान / हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले क्विज मेनिया सिजन ४ आयोजना गर्ने भएको छ । धरान–१५ मा अवस्थित हिविस्कस स्कुलले अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४ आयोजना गर्ने भएको हो । प्रतियोगितामा ४४ विद्यालयको सहभागिता रहने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिता पौष ९ र १० गते सञ्चालन हुने जानकारी दिए ।
प्रतियोगितामा खरिदार तहको सिलेबसका आधारमा प्रश्न तयार गरिने बताए । विद्यालय प्रशासनले यस प्रतियोगिताले विद्यार्थीहरूलाई लोकसेवा आयोग जस्ता प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक क्षमता विकासमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । २०६२ सालमा स्थापना भएको हिविस्कस स्कुलले शिक्षा, अनुशासन र नैतिकतालाई केन्द्रमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयको दावी छ ।

विद्यालयका निर्देशक गङ्गाराम कुलुङले पठनपाठनसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै समावेशी शिक्षामार्फत न्यून आय स्तरका परिवारका बालबालिकालाई समेत शैक्षिक अवसर उपलब्ध गराउँदै आएको बताए । पौष ९ गते हुने पहिलो चरणबाट छनोट भएका ६ टिमले पौष १० गते हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।् । गत वर्ष धरान नगर स्तरीय रूपमा शुरु भएको प्रतियोगितामा सुनसरी जिल्ला स्तरीय बनेको थियो भने यस वर्षदेखि खुल्ला प्रतिस्पर्धाका रूपमा विस्तार गरिएको निर्देशक कुलुङलले जानकारी दिए ।
हाजिरी जवाफमा रुचि राख्ने जुनसुकै विद्यालयले पनि सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको निर्देशक कुलुङले बताए । प्रतियोगितामा विजेताले २० हजार रुपैयाँ नगदसहित रनिङ ट्रफी,मेडल र प्रमाणपत्र, उपविजेताले १५ हजार,तेस्रो हुनेले ८ हजार,चौथो हुनेले ६ हजार,पाँचौँ हुनेले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
२०७९ सालदेखि शुरु भएको प्रतियोगिताको पहिलो संस्करण हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो संस्करण नेपाल पुलिस स्कुल र गत वर्षको संस्करणमा पुनः हिविस्कस स्कुल विजेता बनेको थियो । कार्यक्रमको सह–संयोजकमा विकास साह, जनसम्पर्क समन्वयमा नयनराज राई तथा प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको विद्यालयका निर्देशक कुलुङलले पत्रकार सम्मेलनमा बोल्ने क्रममा जानकारी दिए ।




















