धरान / देश यतिबेला चुुनावमय बनेको छ । सुनसरी(१ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका मनोज भट्टराईको नाम अलिक चर्चामा छ । भट्टराई धरान उपमहानगरपालिका वार्ड नम्बर १७ मा दुुई कार्यकाल वडाअध्यक्ष भई वडावासीको मन जितेका वडाअध्यक्ष हुन् । उनी वडाअध्यक्ष हुँदा पाउने सेवा सुुविधा नलिएर नगरको राजश्वमा जम्मा गरिदिएका व्यक्ति हुन् । मुख्यतयः नीतिगत तहमा आफ्नो प्रभावकारी उपस्थिति जनाउन निर्वाचनमा आएको बताउँछन् ।
रैथाने पहिचान र स्पष्ट एजेण्डा सहित सुुनसरी क्षेत्र नं.मा चुनावी प्रतिस्पर्धामा प्रभावशाली उम्मेदवार मानिएका भट्टराईसँग कोशीपोष्ट डटकमले गरेको विस्तृत कुराकानी सम्पादित अंशः यहाँ प्रस्तुत गरेका छौँ ।

तपाईंको उम्मेदवारी के को लागि ?
मेरो उम्मेद्वारी सैद्धान्तिकरुपमा मुख्यतयः भूगोल र मनलाई जोड्ने हो । यसकोलागि नीतिगत तहमा उपस्थितिको आवश्यता पर्न जान्छ । सुनसरी १ बाट निर्वाचित भएँ भने उक्त नीतिगत निर्णय गर्ने तहमा हुने मेरो उपस्थिति भूगोल र मन जोड्ने दिशामा केन्द्रित रहने छ ।
यो कसरी सम्भव छ ?
अरुले असम्भव भन्दै आएको कुरालाई हाम्रो नेतृत्वले सम्भव बनाएको कुरा भनिरहनु पर्ने विषय होइन । मुख्यतयः रणनीति र कार्यनीतिको सवाल हो । हामीले तयार पारेको रणनीतिअनुसार सुनसरी९१ को भूगोल र मनलाई जोड्न दुई आधार छन् । पहिलो ‘फिजिकल्ली’ र दोस्रो ‘स्पिरिचुवल्ली’ । अर्थात, सुनसरी ९१ को भूगोललाई एकापसमा जोड्ने मुख्य नाकाहरुको पूर्वाधार विकास गर्ने र सुनसरीमा रहेका आस्थाका केन्द्रहरुलाई एउटा योजनामा हालेर प्रवद्र्धन गर्ने । यी दुई कुरामा ध्यान दिन सकियो भने भूगोल र मन दुवै जोडिन्छ ।
तपाईंले भनेको कुरा विकासको गतिविधि भएन र ? यो निर्वाचन त विकास गर्नकोलागि त होइन ।
तपाईले भनेको कुरा ठीक हो । यो विकासको गतिविधि नै हो यद्यपि, यो निर्वाचन विकास निर्माण गर्ने निर्वाचन होइन । नीतिगत निर्णय गर्ने थलोमा जाने निर्वाचन हो । तर, यसो भनिरहँदा हामीले विकासको कुरालाई अस्वीकार गरेको भने होइन, हामीले उठाएको सवाल भनेको नीतिगत संरचनामा आधारित विकास कुरा हो । बजेट छरेरमात्र विकासको कल्पना गर्न सकिन्न, नीति बनाएर संरचनागत हिसाबले अगाडि बढ्नु पर्छ । त्यसैले विकास गर्नकोलागि विकासको मोडेल तथा स्थानीय जीवनलाई पार्ने प्रभावहरुलाई नीतिमा ढाल्नु पर्छ र विकास निर्माणलाई अगाडि बढाउनु पर्छ ।
मतदाताले तपाईलाई किन विश्वास गर्ने ?
पहिलो कुरा त म यहाँको रैथाने हुँ । कुनै अन्य स्थानमा बसोबास भएर निर्वाचनकोलागिमात्र आएको होइन । रैथाने भएपछि स्वभाविकरुपले राजनीति केन्द्रितमात्र मेरो दैनिकी छैन । यहाँको अर्मपर्म, बिहेबटुलो, मरोउपरोउ वा यस्तै समाजिक जीवनसङ्ग दैनिकरुपले बाँचिरहेको छु । अर्को कुरा म रैथाने भएकोले मैले गरेको प्रतिवद्धता पुरा नगरे तपाईले मलाई बाटोमा वा चिया पसलमा भेटेर पनि प्रतिबद्धता के भयो भनेर सोध्न सक्नुहुन्छ । अथवा, घरैमा आएर सोध्न सक्नुहुन्छ । रैथाने हुनु भनेको समाजको दैनिकीसङ्ग जोडिनु हो, रैथानेलाई प्रश्नबाट भाग्न सजिलो छैन ।
तपाईको निर्वाचन क्षेत्र सुनसरी १ को विशेषता के के हुन् ?
सुनसरी १ को विशेषता भूगोलको हिसाबले पहाडी र मधेसी मूलको बस्ती छ, जातीय वा साँस्कृतिक हिसाबले हेर्दा आदिवासी र खस आर्य समुदायको बसोबास रहेको छ । जस्तो कि धरान हेर्ने होभने पहाडी आदिवासी समुदाय हुनु यसको विशेषता हो भने बराहनगरपालिकाका क्षेत्रहरु पहाडी खस आर्य समुदायको वर्चश्व छ, यसैगरि रामधुनीका क्षेत्रहरु तराई मूलका आदिवासीहरु छन् । अर्थात, आदिवासी र खस आर्य समाजको मिश्रण छ । तीन स्थानको साझा चरित्र भनेको तीनै स्थानमा नाम चलेका धार्मिक आस्थाका केन्द्रहरु हुनु हो । यो फरक विशेषताबीच भएका साझा चरित्रलाई सम्पत्तिकोरुपमा विकास गरेर लान सकिन्छ । फरक भूगोलमा भएका फरक जातीय समुदायबीच सांस्कृतिक सद्भावमा जोड दिन आवश्यक छ ।
तपाईले आफ्नो निर्वाचन क्षेत्रमा गर्नै पर्ने कामहरु के देख्नु भएको छ ?
यो पनि भूगोलअनुसार काम गर्नै पर्ने कुराहरु फरक छन् । जस्तो धरानमा मुख्यतयः खानेपानी र सुकुम्बासी व्यवस्थापनको समस्या हो । यसमा भन्नै पर्ने अर्को कुराचाहिँ धरान २० पहाडी भूगोल भएकोले यसको विशेषता अलि फरक छ, यहाँ सडक सञ्जालको स्तर उन्नति र विस्तार गर्न आवश्यक छ । वराहक्षेत्रकोलागि धरान हुँदै चतरा जाने सडक र नडहा जाने सडक निर्माण गरिहाल्नु पर्ने अवस्था छ । यसैगरि चतराबाट सुर्यकुण्ड, चियावारी, विष्णुपादुकाहुँदै धरान जोड्ने सडक सञ्जाल बनाउन आवश्यक छ । बराहक्षेत्रको कतिपय स्थानमा पनि पानीको समस्या छ भने रामधुनीतिर डुबानको समस्या छ । रामधुनीमा मुख्यगरी भेडिगाउँ, मैनी, बक्लौरी, पञ्चायन, हरियालीहुँदै धरान जोड्ने बाटो प्रमुख देखिन्छ भने सेउती करिडोर र सेउती तटबन्धनको कार्य प्रमुख हो । यसैगरी वराहक्षेत्र र रामधुनी भएका जलस्थलहरुलाई व्यवस्थित गर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लान पर्ने अवस्था छ । पछिल्लो समयमा हात्तिको आतङ्क छ, यो समस्यालाई पनि गम्भिर ढङ्गले लिएको छु ।
तपाई धरान १७ को वडाध्यक्ष हुँदा गरेका उल्लेख्य कामहरु के के छन् ?
तपाईले सोधिहाल्नु भो, मैले गरेको काम मैले भन्नुभन्दा पनि धरान १७ वडावासीले अनुभूत गर्ने कुरा हो । मुख्यगरि मैले वडा९१७ वासीको आन्तरिक जीवनलाई भावनात्मकरुपले एकतावद्ध गराएको छु । यही कारणले मैले दुई पटक निर्वाचन जितेको हुँ । अनि पूर्वाधार विकासको कुरा गर्ने हो भने धरानमा पहिलो चार लेनको सडक बगैचासहितको मेरो कार्यकालमा बनेको हो । धरानमा रहेको एकमात्र शहरी स्वास्थ्य प्रर्वधन केन्द्र मेरो कार्यकालमा धरान १७ मा स्थापना भएको हो । हराईजन क्लबले आयोजना गर्ने राष्ट्रिय स्तरको बास्केटबल प्रतियोगिता गर्ने मेरो वडा हो, धरानको गहना बनिरहेको गोधुली फुटबल प्रतियोगिताको आयोजक मेरो वडा हो, वडामा दुई ठाउँ सार्वजनिक शौचालय बनाउने वडा मेरो वडा हो । मैले व्यक्तिगत पहलमा धरान १७ को एकल तथा दलित महिला जानुका विकको घर बनाइदिएको छु । किरात राई समुदायको सस्कृतिसङ्ग जोडिएको साकेला पार्क मेरो वडामा पर्छ, जहाँको भौतिक पूर्वाधारमा वडाको लगानी रहेको छ । करिब ६ करोडको योजना रहेको सरस्वती ढल तथा करिडोर निमार्ण, कोभिडको समयमा सचेत नागरिक समाज धरान १७ को नेतृत्वसङ्ग वडाले सहकार्य गरेर खाद्यान्न वितरण गर्ने, धरान १७ मा क्वारेन्टाइन राख्ने र अप्ठ्यारोमा परेकाहरुलाई दैनिक ३ सय ५० जनालाई ४६ दिन खाना खुवाएको जस्ता थुप्रै कार्यहरु छन् । सानातिना कामहरुको त लामो सूचि नै बन्छ, म त्यतातिर जान चाहिनँ ।
अन्त्यमा केही भन्नु छ ?
यो निर्वाचन खासमा भूगोल र मन जोड्ने उपयुक्त अवसर हो । म भूगोल र मन जोड्न सक्ने खाकासहित उम्मेद्वारको रुपमा उपस्थित भएको छु । तपाई सम्पूर्ण मतदाताको भावनालाई सम्मान गर्न सक्ने उम्मेद्वारको रुपमा छु । तसर्थ, तपाईको अमूल्य मत तारा चिन्हमा लगाएर मलाई अनुमोदन गरिदिनु हुन आग्रह गर्छु ।





















