धरान/ प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं। १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साङपाङ) निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत ल्याइन् । राईले तामाङलाई ८ हजार ४९२ मतको अन्तरले पराजित गरेका हुन् ।

त्यस्तै नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टीका मनोज भट्टराईले ६ हजार २५८ मत ल्याएका छन् । अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ हजार ४१९ मत प्राप्त गरेका छन् । सुनसरी १ मा रहेका ४१ मतदानस्थल र १६१ मतदान केन्द्रमा मतदान भएको थियो । कुल १ लाख ५० हजार ३ सय ९३ मतदातामध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो, जुन करिब ५८ प्रतिशत हो । तीमध्ये ८२ हजार ९८२ मत सदर भएका थिए भने ४ हजार ४८९ मत बदर भएका थिए ।

301237839-775165910202031-1577179248258595507-n-1

यो निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १ देखि ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समावेश छन् । धरानका पूर्वमेयर समेत रहेका हर्कराज राईले नेतृत्व गरेको श्रम संस्कृति पार्टी हालै गठन भएको नयाँ राजनीतिक शक्ति हो । जेनजी आन्दोलनपछि बनेको राजनीतिक माहोललाई आधार मानेर उनले १६ कात्तिक २०८२ मा यो पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । पार्टीले ‘हर्कवाद’ नामक राजनीतिक अवधारणा अघि सारेको छ, जसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनमा आधारित विकासलाई जोड दिन्छ । श्रमदान, श्रमको सम्मान र समुदायको सक्रिय सहभागितामार्फत विकास सम्भव हुने विश्वास यस विचारको केन्द्रमा रहेको पार्टीले जनाएको छ ।

धरानमा मेयर हुँदा हर्क साम्पाङले श्रमदान अभियानमार्फत पानी परियोजना र विभिन्न सामुदायिक कामहरू अघि बढाएका थिए । यही अभ्यास र विचारलाई विस्तार गर्दै उनले श्रम संस्कृति पार्टी स्थापना गरेका हुन् । २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो पटक सहभागी भएको यो पार्टीले प्रत्यक्षतर्फ १२० क्षेत्रमा उम्मेदवार उठाएको थियो ।