धरान / लिगामेन्ट रेसिडेन्सियल स्कूूद्रारा नतिजा प्रकाशन तथा प्रि-स्कूल दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको छ । धरान–१६ स्थित लिगामेन्ट स्कूलमा एक आकर्षक तथा भावनात्मक वातावरणका बीच प्रि-स्कुल तहको दीक्षान्त समारोह -Convocation Ceremony) भव्य रूपमा सम्पन्न गरेको हो । “Preschool Convocation Ceremony – Class of 2082” शीर्षकमा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।

समारोहका क्रममा प्रमुख अतिथि तथा विद्यालयका पिन्सिपल शिक्षक शिक्षिकाहरुले बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको पहिलो शैक्षिक यात्राको सफलताप्रति बधाई दिएका थिए । साथै, बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावक र शिक्षकको भूमिकालाई महत्वपूर्ण बताइएको थियो ।
अभिभावकहरूको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा आफ्ना सन्तानको प्रगति देखेर उनीहरू भावुक समेत बनेका थिए । साना नानीहरूको खुसी, आत्मविश्वास र उत्साहले कार्यक्रमलाई अझ विशेष बनाएको थियो । यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्ने र आगामी शिक्षाको यात्रामा थप प्रेरणा मिल्ने विद्यालयले विश्वास लिएको स्कूूलका प्रिन्सिपल तेजमान लिम्बुले बताए ।

स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा युकेजी तहको अध्ययन सफलतापूर्वक पूरा गरेका ३४ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो । साथै प्ले गुुरुपदेखि कक्षा–९ सम्मका विद्यार्थीहरुको वार्षिक नतिजा पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा स्कुलका प्रिन्सिपल तेजमान लिम्बू, निर्देशक दुर्गा सुवेदी, भाइस प्रिन्सिपल सोनु राई सुवेदी तथा फाइनान्स अफिसर जुनु लिम्बुले दीक्षित विद्यार्थीहरूलाई अबिर, खादा, गाउन र ह्याट लगाएर सम्मानपूर्वक दीक्षान्त प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईले लिगामेन्ट स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि प्रभावकारी प्लेटफर्म सिर्जना गरेको बताए । आउने दिनमा यस्ता कार्यक्रमहरूमा अभिभावकहरूका प्रतिभा समेत प्रस्तुत गर्ने अवसर प्रदान गर्न विद्यालयलाई वडाअध्यक्ष भट्टराई सुुझाए ।

अभिभावकहरूको निरन्तर साथ, सहयोग र विश्वासका कारण विद्यालयले प्रगती गर्न सफल भएको विद्यालयका प्रिन्सिपल लिम्बूले बताए । आगामी शैक्षिक सत्र २०८३ का योजनाबारे जानकारी दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गरेको प्रिन्सिपल लिम्बूले अभिभावकहरुलाई धन्वाद दिदै भने । अभिभावकहरूको मेहनत, समर्पण र घरमा छोराछोरीलाई गाईड गरेकै कारण विद्यार्थीहरूले उत्कृष्ट प्रगति गर्न सकेको विद्यालयका निर्देशक दुर्गा सुवेदीले बताए ।

कार्यक्रम स्थललाई रंगीन बेलुन, फूल तथा आकर्षक सजावटले सुसज्जित बनाइएको थियो, जसले समारोहलाई अझ रमाइलो र स्मरणीय बनाएको थियो । कार्यक्रममा साना बालबालिकाहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति मार्फत उपस्थित अभिभावक र अतिथिहरूको मन जितेका थिए ।






















