काठमाण्डौंं / लगातार विवादमा परेपछि गृमन्त्री सुधन गुुरुङले राजीनामा दिएका छन् । गुुरुङले २६ दिनमा राजीनामा दिन बाध्य भएका हुन् । बुधबार गुरुङले प्रधानमन्त्री बालेन्द्र …बालेनÚ शाहलाई राजीनामा बुझाएका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हतार गरेका गृहमन्त्री गुरुङ विवाद र चर्चाको केन्द्रमा रहेका थिए ।
मन्त्री भएको भोलिपल्ट बिहानै ओली र लेखक पक्राउ परेपछि गुरुङले सामाजिक सञ्जाल -फेसबुक)मा जेनजी आन्दोलनका सहिदको शवको तस्बिर राखेर लेखे, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा हो स् कानुन भन्दा माथि कोही छैन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’

उनले लगातार हाइप्रोफाइलहरु पक्राउको शृङ्खला सुरु गरे । पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट र शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे । हाइप्रोफाइल पक्राउ गरेपछि गुरुङले सामाजिक सञ्जालमार्फत सङ्ख्या उल्लेख गर्दै …काउण्ड डाउनÚ शुुरु गरेका थिए । उनले पक्राउ गरेका आरोपीहरू मध्ये व्यापारी सुलभ अग्रवाल र दीपक भट्ट मात्रै अहिले थुनामा रहेका छन् ।
केपी ओली, रमेश लेखक, लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मा र दीपक खड्का अदालतको आदेशले छुटेपछि वैशाख ३ मा साँझ पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, …मन्त्री भन्दा जज -न्यायाधीश) शक्तिशाली हुने रहेछ, म अब कानुन पढ्दै छु ।’
चैत २९ मा मन्त्री परिषद्को निर्णय अनुसार प्रधानमन्त्री कार्यालयले विवरण गरेको सम्पत्ति विवरणमा सुधन गुरुङ र परिवारको नाममा करिब २६० रोपनी जग्गा रहेको उल्लेख गरिएको थियो । ८९ तोला सुन र ६ किलो चाँदी गुरुङको सम्पत्तिको विवरणमा उल्लेख भएको भेटिएपछि सामाजिक सञ्जालमा उनको आलोचना भयो । त्यसपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘तिमि जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’
तीव्र आलोचना भएपछि गुरुङले सामाजिक सञ्जालबाट आफ्नो स्ट्याटस हटाए । त्यसपछि गुरुङ रक्षात्मक बनेको उनलाई नजिकबाट बुझ्नेहरू बताउँछन् । भूमि सम्बन्धी ऐन अनुसार गुरुङलाई जग्गाको हदबन्दी लाग्न सक्छ । पोखरामा २० रोपनी जग्गा भाडामा लिएर भाडा नतिरेको घटनामा पनि गुरुङको तीव्र आलोचना भयो ।
पछिल्लो समय उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका दीपक भट्टको कम्पनीमा साझेदार रहेको तथ्य बाहिरियो । भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा उनीमाथि धेरै प्रश्न उठ्यो । रकमको श्रोतबारे प्रश्न उठेपछि उनले सो सापटी लिएर सेयर किनेको दाबी गरे । तर, प्रश्न रोकिएनन् । कुल ५० लाख मूल्य बराबरको सेयर र भट्टसँगको ‘कनेक्सन’बारे चित्तबुझ्दो जवाफ दिन नसकेपछि गुरुङको गृह मन्त्रालयको यात्रामा ब्रेक लागको छ । गुरुङ अब पूर्व मन्त्री र रास्वपाका सांसद मात्र भएका छन् ।




















