बुटवल / बसको ठक्करबाट बुटवलमा मोटरसाईकल चालकको मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तगत बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका एक युवाको मृत्यु भएको हो । आज बुटवल उपमहानगरपालिका–१३ सालघारी चोक, बेलबासस्थित पूर्वपश्चिम राजमार्गमा काकरभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प ३४९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अर्घाखाँचीको शितगंगा नगरपालिका–४ ठाडा, वर्बोट निवासी ३० वर्षीय अमृत बेल्वासेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका बेल्वासेलाई तत्काल उपचारका लागि एडमन्ड सिटी अस्पताल, जितगढी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ




















