ईनरुवा/ सुुनसरीको इनरुवा नगरपालिका –६ स्थित शितल सेकुवा कर्नरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट एक लाखभन्दा बढी नगद बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार उक्त सेकुवा कर्नरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर तास खेलिरहेका १२ जनालाई नियन्त्रणमा लिएको हो । 

301237839-775165910202031-1577179248258595507-n-1

प्रहरीले घटनास्थलबाट जुवाको खालमा राखिएको नगद १ लाख १ हजार ७ सय ३५ रुपैयाँ र एक बुङ तास बरामद गरेको छ । पक्राउ पर्नेहरूमा इनरुवा–६ का ४७ वर्षीय जुनलक राई, इनरुवा–९ का २८ वर्षीय ताहिर साफी, इनरुवा–६ का ६० वर्षीय रामप्रसाद चौलागाईं, इनरुवा–८ का ३७ वर्षीय उमेश साह हलुवाई, इनरुवा–६ का ४७ वर्षीय बिनोद बोगटी, शितल सेकुवा कर्नरका सञ्चालक इनरुवा–६ का ५९ वर्षीय शुरबहादुर राउत, इनरुवा–८ का २९ वर्षीय नजावुल मियाँ, इनरुवा–८ का २५ वर्षीय अमिर मियाँ, भोक्राहा नरसिंह गाउँपालिका–२ का २७ वर्षीय फारुक अन्सारी, सोही स्थानका २२ वर्षीय मफुज अन्सारी, रामधुनी नगरपालिका–९ का ३३ वर्षीय उमेश सदा तथा कोशी गाउँपालिका–१ का ३४ वर्षीय बैजनाथ यादव रहेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।