धरान / कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा धरानमा गरिएको दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका वर्गहरूको पत्रकारितामा सहभागिता, प्रतिनिधित्व र अधिकारका विषयलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा सुुनसरी जिल्लाका पत्रकार,सञ्चारगृहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा रहेको थियो ।
कार्यक्रममा पत्रकारिताको वर्तमान अवस्था, डिजिटल युगमा सञ्चारमाध्यमले भोगिरहेका चुनौती, सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक तथा अपुष्ट सूचनाको प्रभाव, पत्रकारको व्यावसायिक सुरक्षा तथा पत्रकारिताको विश्वसनीयता जोगाउने उपायका विषयमा विस्तृत छलफल गरिएको थियो । अन्तरक्रियाका क्रममा पत्रकार आचारसंहिताका विभिन्न प्रावधान, समाचार संकलन तथा सम्प्रेषणका क्रममा पालना गर्नुपर्ने नैतिक मूल्य–मान्यता, स्रोतको गोपनीयता, तथ्यको पुष्टि, सन्तुलित समाचार सम्प्रेषण तथा संवेदनशील विषयमा जिम्मेवार पत्रकारिताको आवश्यकता बारे प्रस्तुति गरिएको थियो ।

सहभागीहरूले पछिल्लो समय अनलाइन तथा सामाजिक सञ्जालमा तथ्यहीन सामग्रीको बढ्दो प्रवाहले पत्रकारिताको विश्वसनीयतामा चुनौती थपिएको उल्लेख गर्दै सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितालाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका विषयमा समाचार सम्प्रेषण गर्दा सम्मानजनक भाषा प्रयोग, गोपनीयताको संरक्षण तथा मानव अधिकारको सम्मान गर्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो ।
प्रस्तुतिमा बालबालिकासँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा उनीहरूको पहिचान खुल्ने सामग्री प्रयोग गर्न नहुुने, हिंसा तथा दुव्र्यवहारका घटनामा पीडितको मर्यादा कायम राख्नुपर्ने तथा समाचारले समाजमा पार्ने प्रभावबारे पत्रकारहरू संवेदनशील हुनुपर्ने विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरुले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै सत्यता, स्वतन्त्रता, निष्पक्षता, मानवता र उत्तरदायित्व पत्रकारिताका प्रमुख आधार भएको बताएका छन् । उनीहरूले पत्रकारहरूलाई तथ्यमा आधारित, सन्तुलित र जनउत्तरदायी पत्रकारिता गर्न आग्रह गरेका थिए ।
सहभागीहरूले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न पत्रकार आचारसंहिताको पूर्ण पालना, व्यावसायिक दक्षताको विकास तथा समावेशी पत्रकारिताको प्रवद्र्धन आवश्यक रहेको निष्कर्ष निकालेका छन् । उक्त अन्तरक्रिया कार्यक्रम जेठ २० र २१ गते सुनसरीको धरानमा सम्पन्न भएको हो । कार्यक्रमको आयोजना संगालो खबर मिडिया प्रा.लि, विराटनगरले गरेको थियो ।
पत्रकारिता आचरसंहिताको बारेमा जानकारी गराउदै पत्रकारिता क्षेत्रमा देखिएका समस्याको समाधान चुनौतीको सामना बारे वरिष्ठ पत्रकार यज्ञ शर्शाले अन्तसक्रियमा सहजीकरण गरेका थिए । कार्यक्रमले पत्रकारिता क्षेत्रमा कलम चलाउदै आईरहेका पत्रकार र नयाँ पत्रकरहरुलाई सत्य, निष्पक्ष र पेशा प्रति उत्तरदायी बनाउन सहयोग पुुगेको संगालो खबरका संचालक तथा अन्तरक्रिया कार्यक्रमको संयोजक रबिन कटेलले बताए ।




















