धरान / धरानको भानुुचोकमा वषौ देखि सञ्चालन भईरहेको वसपार्क स्मार्ट नयाँ वसपार्कमा साउन १ गते (आज) बाट सरेको छ । विवाद, कानुनी जटिलता र अनेकौं उतारचढाव पार गर्दै अन्ततः धरानको बहुप्रतिक्षित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो । यससँगै धरानको सार्वजनिक यातायात व्यवस्थापन नयाँ अध्यायमा प्रवेश गरेको छ ।
धरान उपमहानगरपालिकाले यसअघि नै निर्णय गरेअनुसार श्रावण १ गतेदेखि लामो तथा मध्यम दूरीका सबै सार्वजनिक सवारी साधन नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न अनिवार्य गरिएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवालाको संयुक्त सुरक्षा समन्वय बैठकले गरेको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएपछि पहिलो दिनदेखि नै नयाँ व्यवस्था लागू भएको हो ।

गत असार १३ गते धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले एक भव्य समारोहबीच स्मार्ट बस टर्मिनलको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनकै क्रममा उनले बसपार्क सञ्चालनका लागि आवश्यक आन्तरिक व्यवस्थापनलाई केही समय दिनुपर्ने भएकाले तत्काल पूर्ण रूपमा सञ्चालन नगरिने बताएका थिए । त्यसयता टिकट काउन्टर व्यवस्थापन, पार्किङ, सुरक्षा, ट्राफिक सञ्चालन, शटल सेवा तथा अन्य प्राविधिक तयारी पूरा गरिएपछि श्रावण १ गतेदेखि बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
स्मार्ट बसपार्क सञ्चालनसँगै यात्रुलाई आधुनिक र व्यवस्थित सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । वडा नं। ८ स्थित तीनकुने(सुन्दरबस्ती क्षेत्रमा करिब २७ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको यो अत्याधुनिक बस टर्मिनलमा यात्रुको सुविधालाई प्राथमिकतामा राखिएको छ ।
बसपार्कमा १०५ सिट क्षमताको विशाल प्रतीक्षालय, २५ वटा आधुनिक टिकट काउन्टर, एटीएम बुथ, मिनी मार्ट, प्राथमिक उपचार कक्ष, अपाङ्गतामैत्री सार्वजनिक शौचालय, २४सै घण्टा सञ्चालन हुने सीसीटीभी निगरानी प्रणाली तथा सुरक्षा नियन्त्रण कक्षको व्यवस्था गरिएको छ । पहिलो तलामा होटल सञ्चालनका लागि व्यवस्थित कोठा, व्यावसायिक सटर, रेस्टुरेन्ट तथा कफी शप निर्माण गरिएको छ भने बसपार्क व्यवस्थापन कार्यालय पनि सोही भवनमा राखिएको छ ।
बसपार्कको बाहिरी क्षेत्रमा ठूला बस तथा जिप पार्किङका लागि छुट्टाछुट्टै लेन निर्माण गरिएको छ । यातायात संस्थामा आबद्ध ई(रिक्सा र ट्याम्पोका लागि बेसमेन्टमा पार्किङको व्यवस्था मिलाइएको छ । भविष्यमा लिफ्ट जडान गर्न सकिने गरी पूर्वाधार पनि तयार गरिएको छ । सुरक्षा व्यवस्थालाई पनि विशेष प्राथमिकता दिइएको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा आवश्यकताअनुसार सशस्त्र प्रहरी २४सै घण्टा परिचालन गरिनेछ । बसपार्कभित्र सीसीटीभी निगरानी, छुट्टै मोनिटरिङ कक्ष तथा यात्रुको गुनासो सुन्न हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ ।
नगरपालिकाले बसपार्क सञ्चालनसँगै नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने नीति पनि अपनाएको छ । चालक, सहचालक तथा कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ । यात्रुसँग अभद्र व्यवहार गर्ने, झोला तानातान गर्ने वा तोकिएको शुल्कभन्दा बढी रकम असुल्ने व्यक्ति वा संस्थामाथि तत्काल कानुनी कारबाही गरिने जनाइएको छ ।
यात्रुहरूलाई सहज बनाउन उत्तरतर्फबाट आउने सवारीलाई लक्ष्मीचोक, शिक्षा सदन, भानुचोक हुँदै बुढासुब्बा चोकसम्म यात्रु चढाउने(ओराल्ने व्यवस्था मिलाइएको छ । स्थानीय सार्वजनिक यातायात पूर्ण रूपमा नियमित नहुँदासम्म यात्रुको सुविधाका लागि विशेष शटल बस सञ्चालनको व्यवस्था पनि गरिएको छ । यसैगरी, अबदेखि भानुचोक तथा अन्य स्थानमा रहेका सबै टिकट बुकिङ काउन्टर बन्द गरी टिकट बिक्री नयाँ बसपार्कभित्रबाट मात्रै गरिने व्यवस्था लागू भएको छ । प्रत्येक काउन्टरमा भाडादर अनिवार्य रूपमा प्रदर्शन गर्नुपर्नेछ भने बढी भाडा असुलेमा तत्काल कारबाही गरिनेछ ।
धरान(पानबारी, चतरा लाइन र मङ्गलवारे स्ट्यान्डबाहेक अन्य स्थानबाट यात्रु चढाउन वा ओराल्न नपाइने व्यवस्था पनि लागू गरिएको छ । नियम उल्लङ्घन गर्ने सवारीमाथि मोबाइल चेकिङ टोलीमार्फत तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ । धरानमा आधुनिक बसपार्क निर्माणको अवधारणा दुई दशकअघि सुरु भएको थियो । पुरानो बसपार्क साँघुरो बन्दै गएपछि नयाँ स्थानमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको थियो । २०७६ सालमा शिलान्यास भएको आयोजना निर्माणका क्रममा स्थानीयको विरोध, कानुनी विवाद तथा अदालतको आदेशका कारण पटक(पटक प्रभावित भयो । निर्माण सम्पन्न भइसकेपछि पनि सञ्चालनको मिति पटक(पटक सर्दा सर्वसाधारणमा निराशा बढेको थियो ।
तर यसपटक नगर कार्यपालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा यातायात व्यवसायीबीच भएको सहकार्यले अन्ततः बसपार्क पूर्ण रूपमा सञ्चालनमा ल्याउन सफल भएको छ । कार्यवाहक नगर प्रमुख बेघाले अब कुनै पनि अवस्थामा बसपार्क सञ्चालन नरोकिने स्पष्ट पारेका छन् ।




















